अर्घाखाँचीका मेघराज अधिकारी दुबइमा मृत अवस्थामा भेटिए

0
207

उमाकान्त पाण्डे । युएई , मंसिर २३ – रोजगारीका लागि युएई आएका एक जना नेपालीको ज्यान गएको छ । युएईमा रहेको केएम ट्रेडिङ कम्पनीमा स्टोर इन्चार्जको रुपमा कार्यरत वाङ्ला ५ सीउडेनी अर्घाखाँचीका मेघराज अधिकारीको दुबइमा ज्यान गएको हो ।

गएको मंगलबार दुबईको जबीलाली डिआपी पार्कमा मर्निङवाल्कका लागि निस्किएका उहांको सोही पार्क छेउ सडकमा शब भेटिएको हो । मर्निङवाल्क निस्किनुभएका अधिकारि अवेर सम्म कोठामा नआएपछि कोठाका सहकर्मीले फोन गर्नुभएको थियो । लामो समय सम्म फोनको घन्टी बजेपनि नउठेपछि सहकर्मीहरु उहांलाई खोज्न पार्क गएका थिए । खोज्ने क्रममा उहांलाई पार्क छेउको सडकमै मृत अवस्थामा भेट्टाउनु भएको थियो ।

उच्च रक्तचाप तथा सुगरका बीरामी भएकोले पछिल्लो समय उहांले दैनिक मर्निङवाल्क गर्नुहुन्थ्यौ । झन्डै १६ बर्ष पहिले युएई आएर सोही कम्पनीमा स्टोर किपरको रुपमा आबुधाबीमा कार्यरत उहां दुईबर्ष पहिले स्टोर इन्चार्जको रुपमा बढुवा भएर दुबई सरुवा हुनुभएको थियो ।

मृतक अधिकारीले हटारीनेटाको चित्रप्रभा युवाबर्ष जनता उच्च मावीमा झन्डै चार बर्ष तथा सन्धिखर्कको निर्मल नवज्योति सुस्त तथा मनस्थती बिधालयमा झन्डै ५ बर्ष अस्थायी शिक्षकको रुपमा अध्यापन गराउनु भएको थियो ।

मृतक अधिकारीको परिवारमा एक श्रीमती सहित तीन छोरीहरु छन । मृतकको शब अहिले अनुसन्धानको क्रममा दुबईको अल रशिद अस्पतालमा राखिएको छ । प्रहरी तथा अस्पतालको रिपोर्ट आएपछि मात्रै शब नेपाल पठाउन सकिने दुतावासले जनाएको छ ।