मृत्युलाई जितेँ, निर्वाचनपनि सहजै जित्छुः चेतनारायण आचार्य

0
103

नेकपा एमाले अर्घाखाँचीका अध्यक्ष तथा प्रदेश सभा क्षेत्र नम्बर १ का प्रत्यक्ष तर्फका उम्मेदवार चेतनारायण आचार्य जिल्लाको लोकप्रिय नेताको रुपमा परिचित छन् । उनको उम्मेदवारीले जिल्लावासी मतदाताहरुमा ठूलो उत्साह थपिएको छ । कुनै समय जटिल अवस्थामा पुगेको क्यान्सर मृगौला, मुटुको समस्यालगायतका सात ठूला रोगहरुले ग्रसित भएपछि धेरैले उनी निको हुने आशा मारिसकेका थिए तर प्राकृतिक चिकित्सा विधि अपनाएर सबै रोग एकै पटक निको पारेर नयाँ जीवन पाएका आचार्यले बाँकी जीवन जनताको सेवामा समर्पित गर्ने बताए । उनका चुनावी एजेण्डा र समग्र निर्वाचनमा केन्द्रीत रहेर दैनिक नेपालका लागि पत्रकार अर्जुन भुसालले गरेको कुराकानीको सम्पादित अंशः
निर्वाचनको माहौल कस्तो पाउनु भएको छ ?
-निर्वाचनले जनतामा उत्साह थपिदिएको छ । भोट खसाल्न मतदाता आतुर देखिन्छन् । यो निर्वाचनपछि देशले स्थिर सरकार पाउने भएकाले पनि जनतामा निर्वाचन प्रतिको आकर्षण बढेको पाएको छु ।
तपाईको उम्मेद्वारी किन ?
अर्घाखाँचीलाई समृद्ध, सुन्दर र नमूना जिल्ला बनाउनका लागि मेरो उम्मेदवारी हो ।
तपाईका चुनावी एजेण्डाहरु के के छन् ?
अर्घाखाँची जिल्ला प्रचुर संभावना बोकेको जिल्ला हो । यो जिल्लालाई समृद्ध बनाउन सकिने थुप्रै आधारहरु छन् । कृषि पशुपालन पर्यटन र घरेलु उद्योगको माध्यमबाट बेरोजगारी समस्याको अन्त्य गर्ने मेरो मुख्य एजेण्डा हो । बेरोजगारी समस्याका कारण धेरै युवाहरु विदेशिन बाध्य भएका छन् । महिला, दलित, पिछडिएको वर्ग, ज्येष्ठ नागरिकको उत्थानमा मेरो विशेष ध्यान केन्द्रित हुनेछ । मुख्य सडकहरुको स्तरोन्नती गरी पक्की गर्ने कार्यलाई प्राथमिकतामा राखेको छु । खानेपानीको समस्या जिल्लाको सबै भन्दा ठूलो समस्याको रुपमा देखा परेको छ । प्रत्येक घरमा खानेपानीको धारो पु¥याउने मैले संकल्प बोकेको छु । शिक्षा र स्वास्थ्य क्षेत्रमा अर्घाखाँची पछाडी परेको अवस्था छ । जिल्ला अस्पताल १५ शैयामा छ । यसलाई ५० शैयाको बनाउने योजना मेरो छ । शिक्षा क्षेत्रमा विभिन्न विषयमा अध्ययन गर्न बाहिरी जिल्ला जानु पर्ने बाध्यता छ । विभिन्न विधाका प्राविधिक शिक्षालय स्थापना गर्ने, व्यवस्थापन, मानविकी र शिक्षा शंकायमा सबै विषयमा स्नातकोत्तर तहमा पठनपाठन गर्ने व्यवस्था मिलाउने मेरो योजना छ ।
अर्घाखाँचीलाई समृद्ध बनाउने आधारहरु के के हुन ?
अर्घाखाँचीलाई समृद्ध बनाउने प्रशस्तै आधारहरु छन । मुख्य आधार भनेको कृषि पशुपालन र पर्यटनलाई लिएका छु । जिल्लामा कृषि क्षेत्रले राम्रो संभावना बोकेको छ । कृषिमा युवाहरुको मोह बढ्दो छ । यहाँको माटो उर्भर छ । विभिन्न फाँटहरुमा तरकारी खेतीबाट मनग्य आम्दानी लिन सकिन्छ । जिल्लाको दक्षिणखाँचीमा पशुपालनको अत्यन्तै राम्रा संभावना छ । त्यहाँका कृषकहरु बाख्रापालन, बंगुरपालन, व्यवसायिक भैसी, गाइपालनमा लागेका छन् । सो क्षेत्र पशुपालनका लागि पकेट क्षेत्र बनिसकेको छ । विभिन्न बालिहरुका पकेट क्षेत्रमा सोहि बालि लगाउनका लागि प्रोत्साहन र प्रेरित गर्ने छु । कृषि र पशुपालनका लागि आवश्यक अनुदान प्राविधिक ज्ञान दिलाउने काममा मेरो ध्यान केन्द्रित हुने छ । अर्घाखाँची जिल्लामा पर्यटन व्यवासाय फस्टाउने क्रममा छ । यहाँ थुप्रै धार्मिक, ऐतिहासिक तथा पर्यटकीय संभावना बोकेका हराभरा क्षेत्रहरु रहेका छन् । ति ठाउँको प्रचारप्रसार र विकासमा म योजना बनाएरै लाग्ने छु ।
सबै भन्दा महत्वपूर्ण कुरा सालझण्डी ढोरपाटन सडक परियोजना छिट्टै सञ्चालनमा आउँदै छ । अहिलेका बाम गठवन्धनका प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार टोपबहादर रायमाझीले भौतिक योजना तथा निर्माण मन्त्री हुँदा यो सडकको निर्माण कार्य सुरु गर्नु भएको हो । यो सडकले अर्घाखाँचीको विकासमा ठूलो मद्दत गर्ने भएको छ । लुम्बिनी आएका पर्यटक अर्घाखाँची भएर बाग्लुङको ढोरपाटन शिकार आरक्ष पुग्ने भएका छन् । ति पर्यटकहरुले अर्घाखाँचीका पर्यटकीय स्थलहरु हेर्दै, अर्घाखाँचीमा पनि केहि दिन रमाएर बाग्लुङ घुम्न जाने वातवरण तयार भएको छ । यो सबै कामको श्रेय अहिलेका बाम गठवन्धका उम्मेद्वार टोपबहादुर रायमाझीलाई जान्छ । अर्को तिर अर्घाखाँचीको जलुकेमा अलपत्र अवस्थामा रहेको नौमुरे जलविद्युत परियोजना निर्माणको कार्यलाई सम्पन्न गर्न हामीले भरमग्दुर प्रयास गर्नेछौँ । जिल्लावासीबाटै सेयर उठाएर भएपनि हामी यो परियोजना निर्माणको काममा लाग्ने छौँ । यो परियोजना निर्माण भइसकेपछि जिल्ला पूर्ण रुपमा लोडसेडिङ मुक्त हुन्छ । परियोजनामा धेरै युवाहरुले रोजगार पाउने छन् । जिल्लामा विभिन्न उद्योगधन्धाहरु फस्टाउने छन् । यहाँका सञ्चार माध्यमको प्रशारणमा सहजता आउने छ । अर्को पक्ष अर्घाखाँचीमा घरेलु उद्योगको प्रचुर संभावना छ । गाउँ घरमा खेर गएका कयौँ वस्तुहरु छन् ति वस्तुहरुको उपयोग गरेर बहुमुल्य वस्तु निर्माण गर्ने काममा लाग्ने छु । तीन खम्बे अर्थ नीति मध्ये एक खम्बा सहकारी क्षेत्रको विकासमा मेरो ध्यान बढि केन्द्रित हुनेछ ।
उम्मेदवारीले जनतामा कस्तो खालको प्रभाव पारेको पाउनु भएको छ ?
बामपन्थी दलका नेता कार्यकर्ता र सुभेच्छुकमा मात्र नभएर अन्य पार्टीका कार्यकर्ता र सुभेच्छुकले समेत मेरो उम्मेदवारीलाई बढो सकारात्मक रुपमा लिएका छन् । जनता धेरै खुसी छन् । मलाई मतदान गर्न आतुर छन् । बहुसंख्यक जनताको अपार माया, साथ र समर्थन देख्दा म निकै प्रफुल्तित छु ।
तपाइले लामो समय सम्म पार्टीको नेतृत्व गर्दा गरेका उल्लेख्नीय कामहरु के के हुन ?
मैले ०५४ साल देखि ०६४ सालसम्म १० वर्ष र ०६९ देखि ०७४ सम्म ५ वर्ष गरि १५ वर्ष एमाले अर्घाखाँचीको नेतृत्व गरेँ । अहिले पनि म नेतृत्वमै छु । मैले लामो समयसम्म यहाँका जनताको पक्षमा निरन्तरका काम गरेको छु । म आफू अर्घाखाँची जिल्लाका बहुसंख्यक जनताको मनमा बस्न सफल भएको छु भन्ने मलाई लागेको छ । मैले गरेका महत्वपूर्ण कामहरु धेरै नै छन् जस्तो लाग्छ । जिल्लाको समग्र विकासमा म लागि परेको घाम जत्तिकै छर्लङ्ग छ । अर्घाखाँची जिल्लालाई विद्युतीकरण गर्न, सडक, शिक्षा स्वास्थ्य, कृषि हरेक क्षेत्रको विकासमा मेरो महत्वपूर्ण भूमिका छ । मैले गरेको सबै भन्दा महत्वपूर्ण काम नरपानीको चुनढुङ्गा बन्द गर्नु हो । नरपानीमा राज्यले शक्ति प्रयोग गरेर स्थानीयको चाहना विपरित चुनढुङ्गा उत्खनन् गर्न खोजेको थियो । स्थानीय प्रतिकारमा उत्रिएका थिए । मैले आफ्नै पार्टीको गृहमन्त्रीलाई समेत चुनौति दिँदै कुनै पनि हालतमा चुनढुङ्गा खोल्न पाइदैन भनेर अडान लिएकै कारण उत्खनन् रोकिएको थियो । त्यतिबेला म लड्दैन्थे भने नरपानीमा रक्तपात हुने निश्चित थियो । यो कुरा सबैलाई थाहा छ । अर्को मैले गत वर्ष सरकारले पाँच नम्बर प्रदेशलाई तराईबाट अलग राख्न संविधान संशोधन गर्न खोज्दा त्यसको विरुद्धमा भएको आन्दोलनलाई निकर्षमा पु¥याउन पनि मेरो अग्रणी भूमिका रह्यो । जनतासँग प्रत्यक्ष जोडिएका लडाइमा म आफू निरन्तर मैदानमा छु ।
बाम गठवन्धन के का लागि हो ?
बाम गठवन्ध मुलुकको समृद्धि, विकासका लागि नै हो । स्थायी सरकार निर्माण गरी जनताका हरेक प्रकारका आवश्यकता चाहना र समस्याहरुलाई परिपूर्ति गरि समुन्नत र सम्पन्नशाली राष्ट्र निर्माण गर्नका लागि गठबन्धन गरिएको हो । बाम गठबन्धन जनताको हितका लागि गरिएको हो ।
बाम गठवन्धन अधिनायवाद ल्याउनका लागि हो भन्ने काँग्रेसको आरोप छनी ?
काँग्रेसले अहिले जे भनिरहेको छ, त्यसमा कुनै सत्यता छैन । यो समान्य नागरिकले पनि बुझिसकेको अवस्था हो । काँग्रेसले अझै पनि जनतालाई भ्रममा पार्न सकिन्छ कि भनेर अनेक हतकण्डा अपनाइरहेको छ । अफवाह फैलाइरहेको छ । अत्यन्तै गैर जिम्मेवार अभिव्यक्तिहरु उक्त पार्टीका जिम्मेवार नेताहरुले दिँदै हिँडिरहेको अवस्था छ । यसले हामीलाई कुनै असर गर्दैन । झनै फाईदा पुग्छ । काँग्रेसका नेताहरुले आफ्नो हैसियत देखाइरहेका छन् । म लगायत हाम्रा उम्मेदवारहरुलाई अनावश्यक गाली गलैज गर्ने, अनावश्यक अरोप लगाउने काम गरिरहेका छन् । जनताको पक्षमा काम गरेर राजनीति गर्ने बेला हो यो । हामीले काम गरेर प्रमाणित गरेका छौँ । हामी काँग्रेसलाई लोकतान्त्रिक शक्तिहरु मिलाएर एउटै पार्टी बनाउन सुझाव दिन्छौँ । बाम दल एक ठाउँमा भएपछि आफ्नो अस्तित्व मेटिने डरले अधिनायकवाद आउँछ भन्नु नै काँग्रेसको अधिनायकवादी शैली र संस्कार हो । यो कुरा जनताले बुझिसकेका छन् । मुुलुक लामो समयसम्म अस्थिर रह्यो कसैको पनि दुइ तिहाइ बहुमत नहुँदा सरकार छ महिना, नौ महिनामै ढल्ने अवस्थाले गर्दा जनताका समस्या जहाँको त्यहीँ रहे । अब स्थिर सरकारले निर्माण गरि मुलुकलाई निकास दिनका लागि बाम गठवन्धन निर्माण गरिएको हो ।
तपाइले जित्नु भयो भने आफूले गरेको प्रतिबद्धता पुरा गनुहुन्छ भन्ने के ग्यारेण्टी छ ?
म सपथ खाएकै दिनबाटै जनताको काममा लाग्ने छु । मैले अनावश्यक आश्वासन बाड्ने काम गरेको छैन । संभव हुने प्रतिबद्धता मात्र मैले जायर गरेको छु । मैले बोलेका कुरा पुरा गर्ने गरेको छु । म योजनाबद्ध रुपमा लाग्ने छु । क्षेत्र नम्बर १ का सबै गाउँटोल बस्ती–बस्तीमा पुगेर मैले समस्या बुझ्ने काम गरेको छु । जनताका आवश्यकतालाई मैले डायरीमा टिपेर राखेको छु । जनताका हरेक समस्या समाधान गर्न सक्छु भन्ने लागेको छ । म तपाइको मिडियामार्फत के आश्वस्त पार्न चाहन्छु भने मैले मतदाताहरुसँग गरेका बाचा पुरा गर्ने सवालमा म कत्ति पनि चुक्ने छैन । मतदाताको भावनामा कत्ति पनि चोट पु¥याउने काम गर्नेछैन । म जनताको सच्चा सेवक भएर काम गर्ने छु
तपाई विभिन्न खालका जटिल प्रकारका रोगहरु लागेर पनि जीवन जिउन सफल हुनु भएको छ । अहिले तपाइको स्वास्थ्य अवस्था कस्तो छ ?
अहिले म पूर्ण स्वस्थ छु । मैले थुप्रै रोगहरुलाई एकै पटक जितेँ । क्यान्सर, मृगौलाको समस्या, मधुमेह, मुट, कलेजोको समस्या, टेपहोम लगायतका थुप्रै रोगहरुले मलाई एकै पटक आक्रमण गरेका थिए । प्राकृतिक चिकित्सा विधि अपनाएर सबै रोगहरुबाट मुक्त भएको छु । मैले नयाँ जीवन पाएको छु । म नाफाको जीवन जिएको छु । भएभरको धन सम्पत्ति उपचारमा खर्चिएर म अहिले स्वस्थ भएको हुँ । यो नाफाको जीवनलाई जनताको सेवामा समर्पित गर्न पाउँदा म निकै खुसी छु । अबको यो बाँकी जीवनको समयलाई म दिनरात नभनी जनताको सेवामा खर्चिने योजनामा छु ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
यहि मंसिर २१ गते एकै दिन प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन हुँदैछ । अर्घाखाँची जिल्लाबाट हामी बाम गठवन्धका तीनजना उम्मेदवार छौँ । प्रतिनिधि सभाको उम्मेदवारमा अर्घाखाँची जिल्लामा धेरै विकास गरेका लोकप्रिय नेता पूर्व उपप्रधानमन्त्री भोली प्रधानमन्त्री पनि बन्न सक्ने हैसियत भएका नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी हुनुहुन्छ । प्रदेशसभा क्षेत्र नम्बर १ मा म चेतनारायण आचार्य र प्रदेश सभा क्षेत्र नम्बर २ मा एमालेका निवर्तमान अध्यक्ष लोकप्रिय नेता रामजी प्रसाद घिमिरे उम्मेदवार हुनुहुन्छ । हामी तीनै जना उम्मेदवारलाई भारी मतका साथ विजयी गराइ जिल्लाको उज्जवल भविश्य निर्माण गर्ने महान अभियानमा सहयोग पु¥याउनु हुन सम्पूर्ण जिल्लावासीमा म विनम्र आग्रह गर्दछु ।
दैनिक नेपाल बाट साभार