चुनाव जित्नेलाई परदेशीको सन्देश : हामी नेपालमै पौरख गर्न चहन्छौं

0
48

उमाकान्त पाण्डे
युएई, पुस ७ – मंसिर २१ गते दोस्रो चरणमा प्रदेशसभा र प्रतिनिधिसभाको चुनावको दिन स्याङजाका विशाल थापालाई दिनभर काममा मन गएन । प्रदेश नम्बर ४ मा पर्ने स्याङजाका विशाल थापाले अहिलेसम्म भोटहाल्नु भएको छैन ।

देशमा चुनाव हुँदा विशाललाई छुट्टि मिलाएर घर फर्कन मन थियो । त्यो मेसो मिलेन । डेढ वर्षअघि युएई आएका विशाल २५ वर्ष लाग्नुभयो । कलिलै उमेरमा परदेशिएका विशाललाई नागरिकका मतले चुनिएका प्रतिनिधिले देशमै केही गरिदिए फर्किएर देशमै गरिखान सकिन्थ्यो भन्ने आशा छ ।

विदेशमा रहेका परदेशीलाई पनि देशमा हुने चुनावमा भोट हाल्न मिल्ने व्यवस्था गर्ने भनिएपनि त्यसो हुन सकेको छैन । अहिलेको चुनाव पनि सकियो । भोट हाल्न नपाएपनि विशाललाई जनप्रतिनिधिले देशमा फर्किएर केही गर्न सक्ने वातावरण बनाइदिए हुन्थ्यो जस्तो लाग्छ ।

भोजपुरकी निमा लिम्बु युएईमा सिभिल इन्जिनियरको काम गर्नुहुन्छ । उहाँले युएईमा सिभिल इन्जिनियरको काम गरेको ११ वर्ष भयो । ‘युएईमा हुने सबै विकासका गतिविधिमा नेपालीको पनि सीप र दक्षताको प्रयोग भएको भएको हुन्छ । हाम्रो सीपको प्रयोग देशमै प्रयोग गर्न सक्ने वातावरण भैदिए हुन्थ्यो नि । अब चाहिँ प्रतिनिधिले गर्नुपर्छ’ निमा आफ्नो अपेक्षा सुनाउनुहुन्छ, ‘यति भए म त देशमै फर्कन्थें ।’

निमा जस्तै चितवनकी पार्वता श्रेष्ठलाई पनि प्रतिनिधिले सबैभन्दा पहिले परदेशिएका युवालाई देशमा फर्काउने वातावरण बनाउनुपर्छ भन्नुहुन्छ । पार्वता युएई आएको ९ वर्ष भयो । उहाँ युएईको राजधानी आवुधाबीमा रहेको एक वित्तीय संस्थामा काम गर्नुहुन्छ ।

‘अब त विदेश आएको पनि धेरै भयो । मलाई घर फर्कन मन छ । घरमा गएर खाली हात बस्न नपरोस् । यो चुनाव जित्नेहरुले त्यही गरिदिउन जस्तो लाग्छ,’ पार्वताले भन्नुभयो ।

अर्घाखाँचीका राजु खड्का झन्डै डेढ दशक भयो युएई आएको । राजु शिक्षकको जागिर छाडेर विदेश हिँड्नुभएको हो । ‘गाउँमा शिक्षक भएकाले पनि मलाई चुनावको चासो लाग्छ ।

त्योबेला देशको अवस्थाका कारण जागिर छाडेर परदेशिनु पर्‍यो । अब फर्किएर लगानी गर्नसक्ने वातावरण बनाइदिए हुने हो,’ राजुलाई जागिर छाडेर परदेशिदाको दिन सम्झनुहुन्छ ।

उहाँहरुले जस्तै परदेशमा रहेका नेपाली देशमा हुने गतिविधिमा चासो राख्छन् । धेरै परदेशी नेपालमा भएको राजनीतिक अस्थिरताका कारण विदेशिनु परेको बताउँछन । ज्यान परदेशमा भए पनि परदेशमा हुने नेपालीको ध्यान घरदेशमै हुन्छ ।

झन्डै आधा करोड नेपाली युवा परदेशमा भएकाले देशमा हुने चुनावमा मतदान गर्न पाएनन् । तर अब ५ वर्ष पछि हुने चुनावमा यी विदेशबाटै भोट हाल्न पाए हुन्थ्यो भन्ने धेरै परदेशीको अपेक्षा छ ।

यो पालिको मात्र हैन विभिन्न राजनीतिक दलका घोषणा पत्रमा विदेशिएका युवालाई देशमै रोजगारीका अवसर सृजना गर्ने कुरा उल्लेख नभएको हैन । तर यसको कार्यन्वयनमा ध्यान गएको छैन । अर्घाखाँचीका भिमप्रसाद खनाल घोषणा पत्रमा भनेजस्तै हुने हो भने देशमा फर्कन तयार भएको बताउनुहुन्छ ।

देशमा जुन तन्त्र आएपनि नागरिकले महसुस गर्न नसकेको भन्दै खनाल खर्भरै निर्वाचित भएका जनप्रतिनिधिले यस्तो विषयमा ख्याल गर्नुपर्ने बताउनुहुन्छ । तन विदेशमा भएपनि यहाँका नेपालीको मन आफ्नै गाउँठाउँमा छ ।

अब बन्ने सरकारले युवालाई स्वदेशमै रोजगारी दिन्छ भन्ने कुरा सुनेर उनीहरु आशावादी छन् । चुनाव जित्ने जनप्रतिनिधिले कुरा अनुसारको काम गरेर देखाउने हो भने युवाहरु स्वदेश फर्कन तयार पनि छन् ।