सहवासमा स्त्री र पुरुषमध्ये कसलाई बढी आनन्द आउँछ ? शास्त्र यसाे भन्छ …

0
193

मान्छेले परेर मात्र होइन, पढेर पनि जान्दछ भन्ने दृष्टान्त महाभारतमा फेला पर्छ। भीष्मको बारेमा यी आजीवन ब्रह्मचारी हुन् भन्ने स्पष्ट बुझिन्छ। यी किन ब्रह्मचारी हुन पुगे भन्ने विभिन्न ढङ्गबाट कथाहरू रचिएका छन्। त्यो बेग्लै विषय हो। जे होस्, ब्रह्मचारी भनेपछि यिनलाई स्त्री विषयक र अझ सम्भोग विषयक कुरा पक्कै पनि थाहा छैन होला भन्ने अनुमान गर्नु स्वाभाविक हो। तर होइन।

युधिष्ठिरलाई एउटा जिज्ञासाले पेट पोलिरहेको थियो लामो समयदेखि। त्यो के भने समागमको समय स्त्री र पुरुषमध्ये कसलाई बढी आनन्द प्राप्त हुन्छ होला भनेर युधिष्ठिरले निष्कर्ष निकाल्न सकेनछन्। सोध्‍ने पो कसलाई? अन्तमा उनको नजरमा भीष्म नै परेछन्। युधिष्ठिरलाई लागेन कि यी ब्रह्मचारीलाई स्त्रीसँगका कुरा के थाहा भनेर। भीष्मले पनि आफूलाई अनुभव नभएको कुरामा केही बताउन नसक्ने भनेनछन्। बरू सुनाएछन् एउटा कथा भंगस्वानाको। भीष्मले पढेका थिए नि आखिर, परेको पो थिएन।

भंगस्वाना एक धर्मात्मा राजा थिए। यिनको धर्मको प्रतापले इन्द्रलाई छटपटी भयो। भंगस्वानाको व्यवहारमा खोट फेला पर्ला र दण्डित गरुँला भनेर बाटो हेर्दा हेर्दा इन्द्रलाई पट्टाइ लागिसकेको थियो। तर मौका परेन। भंगस्वानाको सन्तान थिएन। सन्तान प्राप्तिको लागि ठूलो यज्ञ लगाए। यज्ञमा अग्‍नि मुख्य भाग पाउनेमा परे। आफूलाई छोडेर अग्‍निलाई महत्व दिएको इन्द्रलाई मन परेको थिएन। मौकाको ताकमा थिए इन्द्र भंगस्वानालाई स्वाद चखाउने। राजा एकदिन शिकारमा गएका थिए तलाउ फेला पर्‍यो। गर्मीले उखुम थियो। सेनाहरू पनि यताउता छिरलिएका थिए। राजा तलाउमा प्रवेश गरे। इन्द्रले त्यही मौकामा बदला लिने विचार गरे। तलाउबाट निस्कँदा राजा स्त्री रूपमा परिवर्तन भएछन्। पुरुष अङ्गको ठाउँमा स्त्री अंग देखेर राजा आफ्नो मुलुक फर्केनन्। घरमा पत्‍नीसामु कुन मुख देखाउनु भनेर जङ्गलमै बसेछन्।

उता राजाको सय छोराहरू थिए। यता स्त्री रूपमा परिवर्तित भएपछि भंगस्वानाको अर्को सय पुत्र भयो। आमा बनेर आफूले जन्माएका सय भाइ छोराहरूलाई पनि राज्यको अधिकार दिनुपर्‍यो भनेर भंगस्वाना आफ्नो मुलुक गए र भएको वृतान्त सभामा बताइदिए। दुई सय भाइहरू मिलिजुली बसेका थिए। तर पछि उनीहरूबिच द्वन्द्व भयो। दुई सय भाइ नै मारामार गर्न थाले र अन्तमा कोही पनि बचेन। भंगस्वाना दु:खले मर्माहत भए। भंगस्वानाको दु:ख देखेर इन्द्र प्रकट भए।

इन्द्र — भंगस्वाना, म सय भाइ छोराहरूलाई ब्युँझाइदिन्छु। भन, तिमी आमा भएर जन्माएको छोराहरूलाई ब्युँझाइदिउँ कि, पिता बनेर जन्माएका छोराहरूलाई ब्युँझाइदिउँ?

भंगस्वाना — ब्युँझाउनु छ भने म आमा बनेर आफैले पाएका सन्तानलाई ब्युँझाइदेऊ।
इन्द्र — किन त्यसो?

भंगस्वाना — सन्तानको पिता बन्नु र आमा बन्नु फरक फरक अनुभव रहेछ। आफ्नो शरीरबाट पीडा सँहदै जन्माएको सन्तानप्रतिको भावना नै बेग्लै हुँदो रहेछ। त्यसै भएर माया त मलाई दुबै थरिको उत्तिकै लागे पनि आफैले जन्माएको अनुभव मलाई आमा हुँदा मात्र भयो।

भंगस्वानाको स्पष्ट भनाइबाट इन्द्र खुशी भए। इन्द्रले भंगस्वानाका दुई सय छोराहरूलाई नै ब्युँझाइदिए। इन्द्रले फेरि भने — राजा, तिम्रो इमान्दारीबाट म प्रभावित भएँ। तिमी चाहन्छौ भने म तिमीलाई पहिले जस्तै पुरुष बनाइदिन्छु।

भंगस्वाना — देवेन्द्र! अब मलाई पुरुष बन्नु छैन। म स्त्री स्वरूपमै सन्तुष्ट छु।
इन्द्र — किन तिमीलाई स्त्री स्वरूपसँग मोह रह्यो?

भंगस्वाना — देवेन्द्र, साँचो कुरा भन्छु सुन। म पहिला पुरुष स्वरूपमा धेरै स्त्रीसंग गरेँ। सन्तान पनि प्राप्त गरेँ। पछि तिम्रै कारणले स्त्री बनेर पुरुषहरूसँग सहबास गर्ने मौका पाएँ। स्त्री बनेर पुरुष सहबासमा पाएको आनन्दको एक अंश पनि पुरुष बनेर स्त्री सहबासमा थिएन। स्त्री बनेर सम्भोगानन्दमा डुब्नुमा जुन अप्रतिम सौन्दर्य छ, त्यो पुरुष बनेर मैले पाउन सक्दिनँ। त्यसैले मलाई यही रुपमै रहन देऊ देवेन्द्र! राम लोहनीको फेसबुकबाट